
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा सरकार अपेक्षित रूपमा लचक नभएको टिप्पणी गर्नुभएको हो ।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको सम्बन्धमा सरकार नरमको हुनुको सट्टा झन गरम हुँदै गएको उल्लेख गर्दै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले भिजिट भिसा प्रकरणलाई प्रतिपक्षको विषय नभई आम जनताको पीडा भएको भन्दै सरकार छानविनमा प्रतिवद्ध हुनुपर्ने बताउनुभयो ।
भिजिट भिसाको आवरणमा हुँदै आएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भए नभएको बुझ्न र प्रकरणको छानविन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन् । १३ जेठदेखिको संसद बैठक अवरोध गर्दै आएका विपक्षी दलहरूले १५ जेठमा बजेट ल्याउन दिए पनि दुई साता बढी हुँदा बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्