
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काम नलाग्ने दर्जनौँ कानूनहरू खारेज गर्न आवश्यक रहेको बताउनुभएको छ ।
कांग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
महामन्त्री थापाले कांग्रेस र एमालेसँगै भएको बेलामा रोकिएर बसेका ९० को दशकमा गरिएका आर्थिक सुधारका काम कामहरूलाई अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले आर्थिक सुधारका कामहरूका विषयमा केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेको समेत जानकारी दिनुभयो ।
महामन्त्री थापाले कानुनमा सुधार गर्ने कुराहरू अगाडि बढाएको बताउँदै दोस्रो चरणको काम केही दिनमा शुरु गर्ने जिकिर गर्नुभयो । उहाँले काम नलाग्ने दर्जनौँ नियम र कार्यविधिलाई खारेज गरी नयाँ कुराहरू थपेर संरचनालाई ठिक ठाउँमा लानुपर्नेमा जोड दिनुभयो ।
महामन्त्री थापाले कांग्रेस र एमाले मिलेर सरकार चलाउँदै गर्दा त्यसको लाभ आम नागरिकले पाउनुपर्ने बताउँदै तब मात्रै यसको अर्थ हुने जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्