
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले गृहमन्त्री रमेश लेखकको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभूवन विमानस्थलमा भ्रष्टाचार भइरहेको आरोप लगाउनु भएको छ ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद सुवेदीले भूटानी शरणार्थी प्रकरणले देशको शीर निहुँराएको छ महिना नहुँदै भिजिट भिसा सेटिङ प्रकरणले थप शीर निहुराएको टिप्पणी गर्नुभयो । उहाँले राजनीतिक संरक्षण बिना भिजिट भिसाको नाममा मानव तस्करी जस्तो गम्भिर अपराध सम्भव नभएको समेत बताउनुभयो । भिजिट भिसाको आवरणमा भएको तस्करीमार्फत गृहमन्त्री आफू संलग्न रहेपनि कर्मचारीलाई दोष दिएर उम्किन खोजेको उहाँको आरोप छ ।
सांसद सुवेदीले बेरोजगार नागरिक बेचेर पैसा असुल्ने कस्तो देश बनायौं हामीले रु भन्दै प्रश्न गर्नुभयो । उहाँले गृह मन्त्रालयको उच्च नेतृत्वको संलग्नतामा मानव तस्करी भएको दाबी गर्दै निष्पक्ष छानबिन गर्न माग गर्नुभयो । उहाँले गृहमन्त्री लेखकले भाषण अर्कै गर्ने गरेको तर आचरण ठिक नरहेको टिप्पणी समेत गर्नुभयो ।
भिजिट भिसाको आवरणमा मानव तस्करीसम्बन्धी अनुसन्धान निष्पक्ष रूपमा हुने वातावरण निर्माणका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले प्रतिनिधि सभामा अवरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्