१४ जेष्ठ २०८२, बुधबार | Thu May 29 2025


सात बुँदे माग राख्दै यातायात क्षेत्र संवद्ध संघसंस्थाले गरे आन्दोलनको घोषणा


1.521k
Shares

काठमाडौं । यातायात क्षेत्र संवद्ध संघ संस्थाले सात बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका छन् ।

यातायातसँग सम्बन्धित संघीय ऐन विपरित सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको र गण्डकी सरकारले राजपत्रमा प्रकाशित गरी ल्याएको राइड शेयरिङको विरोधमा आन्दोलनको घोषणा गरिएको हो ।

मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित सार्वजनिक यातायात क्षेत्रसँग सम्बन्धित ८ वटा संघसंस्थाले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले राइड शेयरिङका कारण सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने अवस्थामा पुगेको बताउनुभएको छ । अध्यक्ष स्वाँरले सवारी ऐन, २०४९ संशोधनको क्रममा रहेको अवस्थामा नेपाल सरकारसँग यातायात व्यवसायी महासंघहरु र मजदुर संगठनहरुसँग विभिन्न मितिमा भएका सम्झौता र सरकारबाट गठित विभिन्न कार्यदलका सुझाव प्रतिवेदनहरु कार्यान्वयनको माग गर्नुभयो ।

साथै उहाँले दुर्घटना, क्षतिपूर्ति तथा उद्धार राहतका लागि दुर्घटना राहतकोषको स्थापना, विमालगायतका विषय राखेर यातायात क्षेत्र व्यवस्थित गर्न र अधिकार सम्पन्न यातायात प्राधिकरणको गठन गर्नुपर्नेमा जोड दिनुभयो ।

यहाँले राइड शेयरिङका नाममा प्राइभेट नम्बर प्लेटका गाडीले सार्वजनिक सवारी साधनको जसरी काम गर्न नपाउने स्पष्ट पार्नुभयो ।