
काठमाडौं । नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले नेपालमा बढ्दो राजनीतिक अस्थिरता र भ्रष्टाचारको समस्या समाधानका लागि स्थिर सरकारको आवश्यकता रहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता साउदले राजनीतिक अस्थिरताको जड नै वर्तमान संसदीय प्रणालीमा रहेको उल्लेख गर्दै राष्ट्रिय सहमति गरेर पाँच वर्षसम्म स्थिर सरकार बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
नेता साउदले सरकारी कर्मचारीहरूलाई जिविकोपार्जनका लागि पर्याप्त स्रोत उपलब्ध गराउन नसकिएको कारण अनैतिक गतिविधिहरू बढेको उल्लेख गर्नुभयो । राज्य संयन्त्रमा कार्यरत कर्मचारीहरुले पर्याप्त सेवा सुविधा नपाउँदा भ्रष्टाचारजन्य काम गर्ने गरेको उहाँको तर्क छ ।
नेता साउदले अव्यवस्थित पूर्वाधार निर्माणका कारण मुलुकको आर्थिक विकास हुन नसकेको पनि बताउनुभयो । उहाँले पूर्वाधार निर्माण गर्नुपूर्व वातावरणीय अध्ययन गर्न जरुरी रहेको बताउनुभयो ।
नेता साउदले बजेटलाई प्रतिफल दिने योजनाहरुमा भन्दा राजनीति फाइदाको हिसाबले विनियोजन गर्दा मुलुकमा आर्थिक संकट बढ्दै गएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्