९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


नेपाल गरिबी र बेरोजगारीको दुष्चक्रबाट माथि उठ्ने सम्भावना बढ्यो : अध्यक्ष भट्टराई


2.054k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले गरिबी र बेरोजगारीको दुष्चक्रबाट नेपाल माथि उठ्नसक्ने सम्भावना बढेको बताउनुभएको छ ।

मणिकर कार्कीको पुस्तक अर्थदृष्टि लोकार्पण समारोहमा बोल्दै अध्यक्ष भट्टराईले नेपालले २१ औं शताब्दीमा विश्वसँग पदचाप मिलाएर जानसकेमा अल्पविकसित, गरिबी, बेरोजगारी र परनिर्भरताको अन्त्य हुने बताउनुभएको हो । उहाँले हामीहरुले लोकतन्त्र ल्यायौं, विश्वका नागरिक सरहको राजनीतिक अधिकारहरु लेखेको भएपनि परिवर्तनबाट वित्तीय संस्था, राजनीतिक संस्था र भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरुलाई बलियो बनाउन नसक्दा पछि पर्दै गएको स्पष्ट पार्नुभयो ।

अबको विकास एशियाली मुलुकहरुतर्फ बढिरहेकोले नेपालले पनि विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु आजको आवश्यकता भएको अध्यक्ष भट्टराईको भनाई थियो । उहाँले हिजोको साम्यवादले आज काम नहुने भन्दै नाम जेसुकै दिएपनि बृद्धि, वितरण, दिगोपन र खुशीपन सहितको सन्तुलन भएको बाटो नै अबको बाटो भएकाले यसतर्फ गम्भीर हुनुपर्ने समय आएको बताउनुभयो ।

अध्यक्ष भट्टराईले अर्को मुख्य विषय भनेको पर्यावरण सन्तुलन कायम गर्नुपर्नेतर्फ काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।