
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गणतन्त्रलाई चाहिएको राजनीतिक नेतृत्व नालायक हुँदा मुलुकमा रोजगारी सिर्जना र सुशासन कायम हुन नसकेको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव भुसालले सत्तामा टिकिरहनका लागि गणतन्त्रको कार्यकारी नेतृत्वले राज्यको स्रोत दोहन गरेको बताउनुभयो । उहाँले नाफा कमाउने तर उद्यम नखोल्ने पुँजीपति र नकमाएको सम्पतीमा बाँच्ने नेताहरूबीचको गठबन्धन नै मुलुकको विकास र सुशासनका प्रमुख कारण भएको टिप्पणी गर्नुभयो ।
महासचिव भुसालले दलाल पुँजीवाद, भ्रष्टाचार र बेरोजगारीको श्रृंखलालाई गणतन्त्रको मूल संकटको रुपमा चित्रण गर्दै नेतृत्व परिवर्तनले मात्र संकटबाट बाहिर निस्कन सकिने बताउनुभयो । उहाँले आफूलाई गणतन्त्रको कार्यकारी नेता भन्नेहरुले पद छाड्न जरुरी रहेको बताउनुभयो ।
मुलुकको मसस्या बुझेर तद्अनुसार काम गर्न नसके व्यवस्थालाई चुनौती दिने पात्रहरु समाजमा जन्मिरहने महासचिव भुसालको टिप्पणी छ ।
प्रतिक्रिया दिनुहोस्