२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


रवीन्द्र मिश्रलाई हाजिर जमानीमा छाड्न सर्वोच्चको आदेश


1.092k
Shares

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको छ ।

गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा जोडेर सोही दिन पक्राउ गरिएका मिश्र ५० दिन हिरासतमा बसेपछि सर्वोच्चको आदेशबाट रिहा हुने भएका छन् ।

मिश्रकी श्रीमती सारिका कार्कीले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाई गर्दै सर्वोच्चले मिश्रलाई हाजिर जमानीमा छाड्न आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रलाई रिहा गर्न आदेश दिएको हो ।

मिश्रलाई उनका कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिंदैछ । यसअघि सर्वोच्चमा भएको बन्दी प्रत्यक्षीकरणको बहसमा मिश्रको तर्फबाट कानून व्यवसायीहरू भीमार्जुन आचार्य, सतिश खरेल, गोविन्द्र बन्दी, राजु बस्नेत र विष्णु भट्टराईले बहस गरेका थिए ।

बहसका क्रममा मिश्रले आफुसंग लिनुपर्ने बयान सकिएको, मोबाइल सिज गरिएको, बैंक खाता रोक्का गरिएको र फेसबुकबाट समेत विवरण मगाइएको भन्दै बयानपछि पनि म्याद थपिएपछि आफू बन्दी प्रत्यक्षीकरणको रिट लिएर आएको बताउनुभएको थियो ।