
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ ।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले टिआरसीसँग सम्बन्धित विषयहरु छिटो टुंग्याउनुपर्नेमा जोड दिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु टुंगो लगाउन धेरै ढिला भइसकेको र सर्वोच्च अदालतको परिमार्जन गर्ने आदेशपछि कानून टुंग्याएको भएपनि अझै पनि संरचना नबन्नाले काम अगाडि बढ्न नसकेको बताउनुभयो । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन सम्बन्धित पक्ष, राजनीतिक दलहरुसँग छिटो कुराकानी गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
प्रवक्ता महतले संवैधानिक संरचनाहरुलाई पूर्ति गर्ने विषयलाई पनि सरकारले महत्वका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्