
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले द्वन्द्वपीडित महिला तथा बालबालिकाको राहत सहयोगका लागि उजुरीका आधारमा सरकारलाई सिफारिस गर्ने बताउनुभएको छ ।
बिहीबार ललतिपुरमा आयोजित महिला शान्ति र सुरक्षाका सम्बन्धमा ‘कार्यान्वयनको हालसम्मको अवस्था र आगामी कार्यदिशा’ विषयक कार्यक्रमका अध्यक्ष मगरले द्वन्द्वपीडित महिला तथा बालबालिकालाई बढीमा तीन लाखसम्मको राहत सिफारिस गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई अधिकार भएको बताउनुभयो । उहाँले राष्ट्रिय मानवअधिकार आयोगमा परेका उजुरीको छानबिन गरी कार्यान्वयनका लागि सरकारलाई सिफारिस गर्ने काम भइरहेको बताउनुभयो ।
अध्यक्ष मगरले बेपत्ता महिला तथा बालबालिकाको खोजी कार्य भइरहेको तथा पत्ता लाग्न नसकेको हकमा पनि सोहीअनुसार सार्वजनिक गर्ने बताउनुभयो । उहाँले राष्ट्रिय मानव अधिकार अयोगले पीडित महिला तथा बालबालिकालाई न्याय दिएर छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष मगरले द्वन्द्व पीडित महिला तथा बालबालिकालाई सरकारले गर्नुपर्ने सहयोग र महिला हिंसा तथा यौनहिंसा रोक्न अपनाउनुपर्ने सुरक्षा व्यवस्थालाई आयोगले प्राथमिकताका साथ कार्ययोजनामा राखेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्