Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


जन्माष्टमीको रथयात्रामा सहभागी हुन गएका तीन युवती दुई सातादेखि बेपत्ता


0
Shares

बेत्रावती, असोज ३ । नुवाकोटको तादी गाँउपालिका–१ उर्लेनी काल्चेका तीन युवती दुई सातादेखि हराइरहेका छन् ।

गत भदौ १८ गते तादी–३ खरानीटारमा लाग्ने श्रीकृष्ण जन्माष्टमीको रथयात्राको जात्रामा सहभागी हुन गएका उनीहरु फर्केर घर नआएको भन्दै परिवारले खोजी गर्न प्रहरीसमक्ष सहयोग मागेका छन् । 

काल्चेका १८ वर्षीया शर्मिला भनिने आइती तामाङ, उनको फुपू १७ वर्षीया सम्झना तामाङ र उनका साथी १७ वर्षीया हसिना भनिने माया तामाङ जात्रामा गएपछि सम्पर्कमा नआएको शर्मिलाको बुबा सोम्बरबहादुर तामाङले बताए ।

गाउँबाट बाहिर नजाने उनीहरु कहाँ गएका हुन् भन्ने केही जानकारी नआएकाले दलालले ललाइफकाइ भारततर्फ बेचबिखनमा लगेको हुनसक्ने भन्दै परिवारले दिएको सूचनाको आधारमा प्रहरीले सीमाक्षेत्रमा खोजी तीव्र बनाएको छ । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरकाअनुसार हराएकामध्ये दुईको मोबाइल ‘लोकेशन’ भारतीय सीमाक्षेत्रसम्म पुगेको देखिएकाले खोजीको लागि त्यसतर्फ प्रहरी परिचालन गरिएको छ । (रासस)