
काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले नीति तथा कार्यक्रममा विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम समयसापेक्ष रूपमा परिवर्तन गर्ने कुराहरू समावेश हुनु राम्रो पक्ष भएको बताउनुभएको छ ।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद पौडेलले शिक्षा विकासको पूर्वाधारको पनि पूर्वाधार रहेको बताउनुभयो । उहाँले नेपालको शिक्षा नीति आर्थिक विकास वृद्धि र समृद्धिसँग सम्बन्धित नहुनु दुर्भाग्यपूर्ण रहेको बताउँदै सरकारले ल्याएको विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने योजना प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
सांसद पौडेलले पाठ्यक्रम असान्दर्भिक हुँदा शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना बन्दै गएको वर्तमान परिस्थितिमा सरकारले शिक्षा नीति परिवर्तन गर्ने प्रतिवद्धता जाहेर गर्नु सकारात्मक पक्ष भएको जिकिर गर्नुभयो । उहाँले नेपाली लाखौँ विद्यार्थीहरू उच्च शिक्षा अध्ययनको लागि विदेशिएको र खर्बौँ रुपैयाँ बाहिरिएको बताउँदै सरकारले युवाहरूले रोजेको, खोजेको, चाहेको विषयमा पढ्न पाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद पौडेलले नीति तथा कार्यक्रमले मुलुकमा देखिएका समस्याहरूलाई समाधान गर्ने विश्वास व्यक्त गर्दै सरकारले त्यसमा कलियो प्रतिवद्धता समेत जाहेर गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्