
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले सरकार फेरि दमनमा उत्रिएको भन्दै आलोचना गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद कार्कीले सरकारको आलोचना गर्नुभएको हो ।
सांसद कार्कीले आइतबारको शिक्षक आन्दोलनमा सरकारले आफैँ घुसपैठ गराएर शिक्षकहरूमाथि लाठीचार्ज, पानीको फोहोर र अश्रु ग्यास प्रयोग गरेर ६२ जना शिक्षकलाई घाइते बनाएको बताउनुभयो । उहाँले सरकारले गत चैत १५ गते एक पत्रकारको हत्या गरेको आरोप लगाउँदै आइतबारको प्रदर्शनमा पत्रकार सविना कार्कीलाई घाइते बनाएको बताउनुभयो ।
सांसद कार्कीले विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकहरूलाई पठनपाठनमा पठाउने वातावरण तयार गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले प्रदर्शनको क्रममा घाइते भएका शिक्षकहरू र पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद कार्कीले आन्दोलनरत आवासीय चिकित्सकहरूलाई उनीहरूको माग पूरा गरेर अस्पताल पठाउने वातावरण तयार गर्न पनि सरकारसँग माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्