
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको भ्रुण नेवार समुदायमा रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादको भ्रुण नेवार समुदायको इतिहासमा, उनीहरुको भाषा, संस्कृति, उत्पादनमा रहेको बताउनुभएको हो ।
अध्यक्ष दाहालले नेवार समुदायका संरचनामा नै नेपाली विशेषताको समाजवाद रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको इतिहासमा आदिवासी जनजातिहरुमध्ये नेवार समुदाय नै अग्रणी भुमिकामा रहेको जिकिर गर्नुभयो । नेवार समुदायको इतिहास अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिने बताउनुभयो ।
अध्यक्ष दाहालले सरकारका गलत काम र क्रियाकलापका कारण धमिलो पानीमा माछा मार्ने दुःशाहस गरेको भएपनि सफल नहुने जिकिर गर्नुभयो । उहाँले नेवार समुदायको सम्मेलनले सरकारका गलत क्रियाकलापहरुको बिरुद्ध खबरदारी गर्नुपर्ने र प्रतिगामी षड्यन्त्रका विरुद्ध चुनौति दिनुपर्ने बताउनुभयो । उहाँले आफूले नेवार समुदायको निम्ति धेरै काम गरेको दाबी गर्नुभयो । नेवार समुदायको संस्कृति, भाषा, इतिहास, आत्मनिर्णय, पहिचान पूरा स्थापित नभएसम्म माओवादी केन्द्रले नेवार समुदायको साथ नछोड्ने जिकिर गर्नुभयो ।
अध्यक्ष दाहालले यथास्थितिवाद र प्रतिगामी षड्यन्त्रका बिरुद्ध पुनः एक पटक उत्पीडित वर्ग र जाति, समुदाय अघि बढ्नुपर्ने बताउनुभयो । त्यसको लागि माओवादीले पुनः एक पटक देशको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्