३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


यातायात व्यवसायको सुरक्षा र सहकार्यमा सरकार कटिबद्ध छ : गृहमन्त्री लेखक


572
Shares

बारा । गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायको सुरक्षा र सहकार्यमा सरकार कटिबद्ध रहेकोे बताउनुभएको छ ।

बाराको सिमरामा आयोजित तराई यातायात व्यवसायी संघको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले यस्तो बताउनु भएको हो ।

मन्त्री लेखकले यातायातको क्षेत्र मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएर ठुलो लगानीमार्फत देशमा रोजगारी सृजनादेखि अनेकौ योगदानमा सहभागी भएकाले सरकारले यातायातसँगै अन्य निजी क्षेत्रका व्यवसायीसंँग मिलेर अर्थतन्त्रलाई बलियो बनाउन सहकार्यको आव्हान गरेको बताउनुभयो ।

नेपालमा निजि यातायात क्षेत्रले कोभिड संक्रमणको बेलादेखि जुनसुकै समयमा पनि सर्भिस दिन पछि नहटेको हुँदा सरकारलाई सहयोग गर्ने एक मात्र क्षेत्र रहेको बताउँदै उहाँले सम्पुर्ण निजि यातायात क्षेत्रको सुरक्षा सरकारले गर्ने बताउनुभयो । त्यस्तै यातायात व्यवसायीले पनि देशलाई समृद्ध बनाउन इमान्दारीसहित योगदान गर्न कार्यक्रममा पटक पटक आव्हान गर्नुभयो ।

वर्तमान अवस्थामा सडक दुर्घटनासहित साइबर क्राइम, लागु औषध र आत्महत्या गरी ४ वटा मुख्य सुरक्षा चुनौती रहेकाले यसलाई नियन्त्रण गर्न सरकारले आफनो प्रयास जारी राखे पनि निजी क्षेत्रले सहयोग गरे मात्र सरकारको प्रयास सम्भव रहने लेखकको भनाइ थियो ।

त्यसैगरि पुर्व मन्त्री तथा संघीय सांसद किसान श्रेष्ठ, नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठलगायतले सडकमा प्रहरीको एक किलोमिटर क्षेत्रभित्र अनावश्यक चेकजाँच सुरक्षाका लागि नभएर यातायात व्यवसायीलाई दुख दिने तथा अतिरिक्त लाभको आशाले गरिने भएकाले सिमित क्षेत्रभित्र चेकजाँच गराउन कार्यक्रममा गृहमन्त्री लेखकलाई आग्रह गरेका थिए ।