Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


पूर्वराजा शाहलाई देउवाको आग्रह – आश नगरे हुन्छ, अब गणतन्त्र हट्दैन


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताउनुभएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको मानव अधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले विपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला लगायतका धेरै नेपालीहरुले लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गर्नुभयो । उहाँले सम्पूर्ण नेपाली जनताले संविधान सभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको भन्दै कसैले रहर नगर्न आग्रह गर्नुभयो ।

सभापति देउवाले गणतन्त्र नेपाली जनताले मानिसकेको भन्दै पूर्वराजा शाहलाई राजतन्त्र फर्किने आश नगर्न आग्रह गर्नुभयो । उहाँले देशमा प्राप्त समावेशी, समानुपातिक प्रतिनिधित्व भएको र हिमाल, पहाड, तराईका सबै अटाउने गणतन्त्रात्मक संविधान बनेको उल्लेख गर्दै अब देशमा कुनै किसिमको डर नरहेको बताउनुभयो । कुनै हालतमा पनि प्रजातन्त्र हट्न नसक्ने दाबी गर्दै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रलाई स्थायी गराउने काममा लाग्न आग्रह गर्नुभयो ।

सभापति देउवाले नेपालको संविधानमा सबैको प्रतिनिधित्व रहेको बताउनुभयो । विधान प्रदत्त अधिकारहरुमा पनि सबैलाई सहभागी गराइएको बताउनुभयो ।