सप्तकोशीमा सञ्चालित ‘जेटबोट’ बन्द, यात्रुलाई सास्ती • Image Khabar Image Khabar


सप्तकोशीमा सञ्चालित ‘जेटबोट’ बन्द, यात्रुलाई सास्ती


Imagekhabar
६ असार २०७५, बुधबार ०१:३५

सप्तकोशीमा सञ्चालित ‘जेटबोट’ बन्द, यात्रुलाई सास्ती

धनकुटा, असार ६ । बाढी आउन थालेसँगै सप्तकोशी नदीमा सञ्चालित जेटबोट सेवा बन्द भएको छ ।

पहाडी क्षेत्रमा केही दिनयता निरन्तर बर्षाका कारण ढुंगामुढासहितको बाढी आउन थालेपछि जेटबोट सञ्चालन बन्द गरिएको हो । धनकुटाको शहीदभूमि गाउँपालिका वडा नं. १ सिम्लेघाटवाट त्रिवेणी, वराहक्षेत्र हुँदै सुनसरीको चतरासम्म वराहक्षेत्र जल यातायातले करिब ३ करोड लागतमा वैशाख १ गतेदेखि जेटबोट सञ्चालनमा ल्याएको थियो ।

जेटबोट सञ्चालनपछि पूर्वी पहाडका धनकुटासहित भोजपुर, संखुवासभा, उदयपुर र खोटाङका बासिन्दालाई तराई आउजाउ गर्न सहज भएको थियो । जेटबोट बन्द भएसँगै दुधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीबाट कोशी किनारको अक्करे भीर छिचोल्दै यात्रु दैनिक पैदलै चतरा पुग्ने गरेका छन् ।

चतराबाट त्रिवेणीसम्म सडक ट्रयाक नखुल्दा आउजाउ गर्न जेटवोटले सहज भएको थियो । सप्तकोशीका मुख्य सहायक नदी अरुण, दुधकोशी र तमोरमा अहिले पानीको बहाव बढेसँगै जेटबोट सञ्चालन गर्न जोखिमपूर्ण भएको वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका प्रवन्ध निर्देशक विमलमान श्रेष्ठले जानकारी दिए ।

जेटबोट सञ्चालनसँगै धनकुटाको सिम्लेघाटदेखि चतरा गढतिरको बाटो करिब ६ घण्टाको दुरी १५ मिनेटमा छोटिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्