
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रवासमा रहने सदस्यहरुका लागि अनलाइन मतदानको व्यवस्था गरिने भएको छ ।
शनिबार काठमाडौंमा प्रथम राष्ट्रिय महाधिवेशनका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीकी नेतृ हिसिला यमीले यस्तो जानकारी दिनुभएको हो ।
नेतृ यमीले भारतमा रहने प्रवासी सदस्यहरुलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरिएको बतउनुभयो । उहाँले पार्टीले समावेशीताको मर्मअनुसार पदाधिकारी चयन गर्ने जानकारी खिनुभयो । अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिष्पर्धाको आधारमा छनोट हुने र उपाध्यक्ष समूहगत प्रतिष्पर्धाको आधारमा चयन हुने बताउनुभयो । त्यस्तै सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्रि इलेक्शनको माध्यमबाट चयन गर्ने बताउनुभयो ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का नेता कृष्ण शर्माले राजनीतिक समस्या मात्र नभइ समाधान पनि भएको बताउनुभयो । उहाँले अहिले पुराना राजनीतिक दलहरुले समस्या मात्रै उजागर गर्ने गरेको, जनताको भावनालाई समातेर सत्तामा जाने र सत्ताकोदोहन गर्ने काम गरिरहेको आरोप लगाउनुभयो ।
नेता शर्माले नयाँ शक्ति भनेको समाधान भएकाले समाधानसहितको दिशामा अघि बढाउने बताउनुभयो । पार्टीले स्थानीय निकायलाई मुख्य आधार मानेको बताउँदै ७५३ मध्ये ५१२ स्थानीय निकायबाट प्रतिनिधित्व भएको बताउनुभयो । ३१ हजार पार्टी सदस्यहरु, त्यहाँबाट निर्वाचित भएका १ हजार ५ सय प्रतिनिधिहरु काठमाडौं आइसकेको जानकारी दिनुभयो ।
नेता शर्माले पुराना शक्तिहरुलाई पार्टीको महाधिवेशनमा नबोलाइएको बताउनुभयो । उहाँले पार्टीका नेताहरु आफैँ आत्मनिर्भर हुने, स्वायत्त र स्वचालित ढंगका पार्टीका नियकाहरु हुने उल्लेख गर्नुभयो । शक्ति पृथकीकरणको सिद्धान्तलाई पार्टीभित्र अपनाउने बताउनुभयो ।
पार्टीको महाधिवेशन नेपालको राजनीतिक प्रणालीलाई पुनःसंरचना गर्ने र नेपालको राष्ट्रिय राजनीतिक नयाँ दिशामा मार्ग प्रशस्त गर्ने वैकल्पिक राजनीतिक धार भएको बताउनुभयो । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशन माघ २७ गतेदेखि शुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्