१४ चैत्र २०८१, बिहिबार | Fri Mar 28 2025


मधेशवादी राजनीतिक दलहरुद्वारा एकता र सहकार्यको लागि कार्यदल गठन


715
Shares

काठमाडौं । मधेशवादी राजनीतिक दलहरुले एकता र सहकार्यको लागि कार्यदल गठन गरेको छ ।

मधेशवादी ८ राजनीतिक दलहरुको बिहीबार सिंहदरबारमा बसेको बैठकले सहकार्य र एकताको वातावरण बनाउन कार्यदल गठन गर्ने निर्णय गरिएको जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।

प्रवक्ता मनिषले उहाँकाअनुसार कार्यदलमा लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण, जनमत पार्टीबाट शरद सिंह यादव, जनता समाजवादी पार्टीबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट शिवजी यादव, तराई मधेस लोकतान्त्रिक पार्टीबाट श्रीबज्र किशोर सिंह रहनुभएको छ । उहाँले कार्यदलका लागि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्तिबाट नाम आउन बाँकी रहेको बताउनुभयो । उहाँले अगामि दिनमा संविधान संशोधन लगायतका राष्ट्रिय मुद्दाहरुमा समान धारणा बनाउनका लागि सहकार्य गर्न कार्यदल गठन गरिएको बताउनुभयो ।

त्यस्तै बैठकले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशको विरोध गर्ने निर्णय समेत गरेको उहाँले बताउनुभयो । उहाँले सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर मधेशी, जनजाती र आदिवासी समुदायदायलाई विस्थापित गर्न खोजेको आरोप समेत लगाउनुभयो । उहाँले वर्तमान सरकारले एकतन्त्रीय प्रणाली अप्नाएको उल्लेख गर्दै त्यसप्रति मधेसवादी दलहरु सकारात्मक हुन नसक्ने बताउनुभयो ।

बैठकमा जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशिल पार्टी, तमलोपा सहभागि थिए । मधेशवादी दलहरुले सरकारले संविधान संशोधन गर्ने विषय उठाएसँगै एकतावद्ध हुन र मधेशका मुद्दाहरु एक आवाजमा उठाउन भन्दै एकताको प्रयास थालेका हुन् ।