१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा फर्काएका छौँ : सञ्चारमन्त्री गुरुङ


858
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न काम गरिरहेको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले आफूहरु सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेको र अहिलेको सरकारले आइसियुमा ल्याएको उल्लेख गर्दै अब छिटै नै लयमा फर्किने दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रलाई लयमा फर्काउने उद्देश्यले नै अहिले कानूनी र नीतिगत क्षेत्रमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको बताउनुभयो । उहाँले आइटी क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न पनि अध्यादेशमा व्यवस्था गरिएको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘नेपाल सरकारले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्नको लागि काम गरिरहेको छ । हामी सरकारमा आउँदा त अर्थतन्त्र साँच्चै नै कोमामा थियो । त्यो कोममा भएको अर्थतन्त्रलाई हामीले कमसेकम अहिले आइसियुमा ल्याएका छौँ । अब त्यसलाई हामी बाहिर निकाल्न चाहन्छौँ । त्यही उद्देश्यका साथ कानूनी क्षेत्रमा, नीतिगत क्षेत्रमा रहेका समस्याहरु सबै जुन बाधकहरु थिए, त्यसलाई हल गर्नको लागि हामीले अध्यादेश जारी गरेका छौँ । यो अध्यादेशले धेरै कुराहरु फुकाएको छ भन्ने मलाई लाग्छ ।’

मन्त्री गुरुङले जिडिपीमा डिजिटल इकोनोमीबाट ३ प्रतिशत सहयोग होस् भन्ने अपेक्षा सरकारले गरेको बताउनुभयो । अध्यादेशले यसको प्रवन्ध गरिएको र आइटी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान हुने विश्वास गरिएको बताउनुभयो । उहाँले यस महिनाभित्र एआईको पोलिसी बनाइसक्ने बताउनुभयो ।