
एजेन्सी । इजरायल र हमासबीच भएको युद्धविराम आजदेखि कार्यान्वयनमा आएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले स्थानीय समय अनुसार आज बिहान ११ बजेर ५५ मिनेटदेखि गाजामा युद्धविराम लागु भएको घोषणा गरेको हो ।
आइतबार आज बिहान ८ बजेदेखि युद्ध विराम लागू गर्ने सम्झौता भएकोमा हमासले आफ्नो नियन्त्रणमा रहेका बन्धकहरु रिहा गर्ने नामावली सार्वजनिक नगर्दा युद्धविराम चार घण्टा ढिलो लागू भएको हो ।
युद्धविरामको सहमति अनुसार बन्धकको सूची जारी गर्न ढिलाइ भएपछि इजरायली सेनाले गाजामा हवाई आक्रमणसमेत गरेको थियो । जसमा कम्तीमा १३ जनाको मृत्यु र ३० जना घाइते भएको हमासले जनाएको छ ।
युद्धविराम कार्यान्वयनमा आएसँगै हमासले आजै तीन इजरायली बन्धक मुक्त गर्नेछ । आज मुक्त हुने बन्धकहरुमा रोमी गोनेन, डोरोन स्टीनब्रेचर र एमिली डमारी रहेका छन् । उनीहरू तीनै जना इजरायली महिला बन्धक भएको जनाइएको छ । हमासले मुक्त गरेलगत्तै रेडक्रसले जिम्मा लिएर उनीहरुलाई इसराइल लैजाने तयारी छ ।
एक सातापछि थप चार जना बन्धक रिहा गर्ने सहमति रहेको छ भने ६ सातासम्म गरी ३३ जना बन्धकलाई रिहा गर्ने छ । त्यसको बदलामामा इजरायलले प्यालेस्टिनी बन्दीहरुलाई रिहा गर्दै जाने छ । इजरायल र हमासबीच युद्ध भड्किएको १५ महिनापछि युद्ध विराम भएको हो । युद्धमा गाजामा मात्रै ४६ हजार ५ सय बढीको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्