२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छ : थपलिया


468
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रश्ताव ऐनमा राखिएको बताउनुभएको छ ।

शनिबार धुलिखेलमा नेपालमा निर्वाचन सुधारः सुधारका पक्ष, औचित्य र सान्दर्भिकताबारे आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन आयोगले प्रश्ताव गरेको निर्वाचनसम्बन्धी ऐनमा अबको निर्वाचनबाट स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुनुपर्ने प्रावधान राखिएको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रत्यक्षलाई नै समावेशी गर्नसके समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई तलमाथि गर्न सकिने उल्लेख गर्नुभयो । समानुपातिक भनेको अहिलेको ठूलो उपलब्धि भएको उल्लेख गर्र्दै नेपालको लोकतन्त्र भनेको समावेशी लोकतन्त्र रहेको बताउनुभयो । समावेशितालाई बाहिर राखेर कुनैपनि कानून बनाउन नसकिने उल्लेख गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिलेको कानूनले निर्वाचनको अधिकार नै प्रत्यायोजन गर्न नसक्ने अफ्ठ्यारो स्थिति रहेको बताउनुभयो । उहाँले छिमेकी देश भारतमा समेत स्थानीय तहको निर्वाचन प्रदेशले गराउने गरेको भन्दै नेपालमा पनि स्थानीय तहको निर्वाचन प्रदेशले गर्नेगरी व्यवस्था गर्न सकिने उल्लेख गर्नुभयो । स्थानीय तहको निर्वाचन प्रदेश सरकारले गराउने बारेमा आयोगलाई कुनै आपत्ति नरहेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल तथा उम्मेदवारहरुले आचारसंहिता मिच्ने र आयोग त्यसलाई मान्नुपर्छ भनेर छाता बोकेर ओढाउँदै हिँड्ने जस्तो अन्तरसम्बन्ध संसारमा कतैपनि नरहेको जिकिर गर्नुभयो । उहाँले प्रत्यक्ष निर्वाचित र समानुपातिकबीच विभेद गर्न नहुने बताउनुभयो । उहाँले लोकतन्त्रमा, बहुदलीय व्यवस्थामा आम नागरिकको अल्पमतले शासन गर्नु भनेको दुर्गुण भएको बताउनुभयो ।