
काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने गृहकार्य अघि बढाएको बताएको छ ।
सर्वोच्च अदालतबाट सम्पत्ति जफत हुने फैसला गरिएका घरजग्गा सरकारको नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको हो ।
सर्वोच्चले हालसम्म सम्पत्ति जफत सम्वन्धी विभिन्न अदालतबाट गरेको ३ हजार ५ सय फैसला भएकोमा उनीहरुबाट जफत भएको सम्पत्ती सरकारको नाममा आउने भएका छन् । पहिलो चरणमा पाँच पूर्व प्रशासकको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भ्रष्टाचारबाट आर्जन गरेको सम्पती जफतको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारहरूले नै प्रयोग गर्दै आएको अवस्थामा गृहमन्त्रालयले जफत प्रक्रिया अघि बढाएको हो । कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका अनुसार पुर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरु, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारी बहादुर कार्की, केशरजंग खड्का र रामाज्ञ चर्तुबेदीको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेको घरजग्गा जफत गर्ने प्रक्रिया मन्त्रिपरिषदमा पुगेको हो ।
विगतमा अपराधिक गतिविधिमा संलग्न भारतको असाम राज्यका निरञ्जन होजाईले नेपाली महिलाको नाममा काठमाडौंमा राखेको जग्गा र घर पनि जफतका लागि गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्