
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने नीति अर्थतन्त्र गतिशिल बनाउने उपयुक्त नीति नभएको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले राष्ट्र बैंकले ब्याजदर करिडोरमा ६ प्रतिशत भन्दा माथि अन्तर बैंकदर बनाउन नपाउने व्यवस्था गरेको बताउनुभयो । उहाँले त्यसलाई सहजिकरण गर्न राष्ट्रले बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने र बैंकहरुले ३ प्रतिशत ब्याजमा रकम लिने नीतिले अर्थतन्त्रलाई गतिशिल बनाउन नसक्ने बताउनुभयो ।
पूर्वगभर्नर क्षेत्रीले बैंकको खराब कर्जा बढ्दै जाँदा पछिल्लो समय उद्योगी व्यवसायीहरुले कर्जा पाउन नसकेको बताउनुभयो । उहाँले कोभिडको समयमा १ प्रतिशत रहेको खराब कर्जा अहिले ६ प्रतिशत जस्तो पुगेको बताउनुभयो । उहाँले वास्तविक तथ्याङ्क हेर्ने र केलाउने हो भने बैंकहरुको खराब कर्जा १२ देखि १४ प्रतिशत पुगेको दाबी गर्नुभयो । उहाँले कर्जा लिएर व्यवसाय गर्दा पनि घरजग्गा बाहेक परियोजना धितोमा बैंकहरुले कर्जा दिन नसकेको बताउनुभयो ।
पूर्वगभर्नर क्षेत्रीले बैंकहरुले ठूला आयोजना भन्दा पनि साना तथा लघु घरेलु उद्योगमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्र बैंकले पनि बैंकहरुलाई त्यही अनुसारको नीति र निर्देशन गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता उद्योगहरु स्थापनामा लगानी गरे रोजगारीको सिर्जना हुने वातावरण बन्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्