५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


सरकारलाई मानव अधिकार आयोगले गरेका सिफारिसमध्ये १३ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन


273
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले सरकारलाई गरेको सिफारिसमध्ये १३।६७ प्रतिशत मात्रै पूर्णरूपमा कार्यान्वयन भएको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै अध्यक्ष मगरले आयोगले सरकारलाई पीडकलाई कारबाही र पीडीतलाई क्षतिपूर्ति दिनका गरेका सिफारिसहरु कार्यान्वयन नहुँदा आयोगप्रतिको आस्था घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले आयोगका सिफारिस कार्यान्वयनका लागि सरकारले समिति गठन गरेको भएपनि सन्तोषजनक काम नभइरहेको बताउनुभयो ।

अध्यक्ष मगरले चालु आर्थिक वर्षको आरम्भदेखि हालसम्म आयोगमा ३१ वटा उजुरी दर्ता गरिएको बताउनुभयो । आयोगले यस अवधिमा २६ वटा उजुरीका सम्बन्धमा सरकारलाई सिफारिस गरेको तथा ३४ वटा उजुरीहरु तामेलीमा राख्ने तथा खारेजी गर्ने निर्णय गरेको बताउनुभयो ।

अध्यक्ष मगरले आयोगमा अहिले निर्णयको प्रक्रियामा १ हजार १९८ उजुरीहरुको रहेको समेत बताउनुभयो । गत आर्थिक वर्षमा आयोगले ३६८ वटा उजुरीहरुमाथि अनुसन्धान सम्पन्न गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले गत आर्थिक वर्षमा १०१ वटा उजुरीमा कारबाहीको सिफारिस तथा ९० जना पीडितलाई कारबाही सिफारिस गरेको समेत बताउनुभयो ।

अध्यक्ष मगरले आयोगले मानव अधिकार उल्लघंनसम्बन्धी उजुरीहरुका सम्बन्धमा सरकारलाई गरेको सिफारिस कार्यान्वयनका लागि पहल गरिदिन समितिसमक्ष अनुरोध गर्नुभयो ।