५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


ढुक्कले जलविद्युतमा लगानी गर्नुहोस् : ऊर्जामन्त्री खड्का


832
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ढुक्कले जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ऊर्जामन्त्री खड्काले यस्तो आग्रह गर्नुभएको हो ।

ऊर्जामन्त्री खड्काले सरकारले जलविद्युत उत्पादनमा देखिएका समस्या समाधान गर्ने बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले मुलुकको अवरोध गरेका सबै कुरालाई फुकाउँदै अगाडि बढेको बताउनुभयो । उहाँले सरकार निजी क्षेत्रसँग मिलेर नै अगाडि बढ्ने बताउँदै डर नमानी, खुट्टा नकमाई जलविद्युतमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले जलविद्युत उत्पादनमा समस्याहरु रहेको सरकारलाई जानकारी रहेको भन्दै समस्याको समाधान सरकारले गर्ने बताउनुभयो ।

ऊर्जामन्त्री खड्काले समृद्धि,सुशासन,रोजगारी सिर्जना गर्ने सरकार र निजी क्षेत्रको लक्ष्य एउटै रहेको बताउनुभयो । उहाँले सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले सरकारले पीपीए नरोक्ने बताउनुभयो । उहाँले सरकारले लिएको लक्ष्य पूरा गर्नुको लागि पीपीए नरोकिने उल्लेख गर्नुभयो ।

ऊर्जामन्त्री खड्काले जलविद्युत उत्पादन क्षेत्रमा देखिएका समस्या समाधानको लागि नीतिमा सुधार गर्न तयार रहेको बताउनुभयो । उहाँले मुलुकलाई हेरेर समृद्धिका निम्ति ऐन संशोधन गरे अध्यादेश ल्याएको भन्दै राम्रो काम गर्नको लागि विवाद र रुवाबासी गर्न आवश्यक नभएको बताउनुभयो । उहाँले सरकार राम्रो कामको लागि आँखा चिम्लेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

ऊर्जामन्त्री खड्काले जलविद्युत क्षेत्रमा लगानी गर्न डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । उहाँले आन्तरिक खपतलाई पहिलो प्राथमिकता दिने र बाँकी रहेकोमात्रै बिजुली बेच्नुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारले राम्रा कामका लागि विभिन्न ऐन कानून बनाएको बताउनुभयो ।