५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


ईमेज च्यानल टेलिभिजन आजदेखि २९औं वर्षमा प्रवेश


182
Shares

काठमाडौं । टेलिभिजन प्रसारणको क्षेत्रमा समाचार, सुचना र मनोरञ्जनको त्रिवेणी बन्दै आएको ईमेज च्यानल टेलिभिजन आज माघ १ गतेदेखि २८ वर्ष पुरा गरि २९औं वर्षमा प्रवेश गरेको छ ।

नेपाल टेलिभिजनको पर्दाबाट शुरु भएको ईमेजको यात्रा टेलिभिजन, रेडियो र अनलाइनसँगै डिजिटलका नयाँ प्लेटफर्ममा समेत विस्तारित भएको छ ।

२०५३ साल माघ १ गते नेपाल टेलिभिजनको पर्दाबाट प्रसारण यात्रा शुरु गरेको ईमेज च्यानलले प्रसारणको २८ वर्ष पुरा गरेको हो । यो अवधिमा ईमेज च्यानलले आफ्नो प्रसारणलाई प्रविधि र विषयवस्तु दुवै दृष्टिबाट अद्यावधिक र विकास गर्दै लगेको छ ।

नेपाल टेलिभिजनको पर्दामा बिहानीको डेढ घण्टा समय लिएर ईमेज च्यानलको प्रसारण शुरु भएको थियो । निजी क्षेत्रबाट छुट्टै टेलिभिजन प्रसारणको अनुकूल वातावरण नभएको अवस्थामा नेपाल टेलिभिजको पर्दामा ईमेज च्यानल जन्मिए पनि त्यसको छ वर्ष बित्दानबित्दै २०५९ साल माघ १७ गतेबाट काठमाडौं उपत्यकाका दर्शकलाई लक्षित गरी टेरेष्ट्रियल माध्यमबाट ईमेज मेट्रो च्यानलको प्रसारण शुरु ग¥यो । प्रविधिमा आएको परिवर्तन र प्रसारणको क्षेत्रलाई विस्तार गरी ईमेज च्यानलले लोकतन्त्रको विहानीसँगै २०६३ माघ ११ गतेदेखि स्याटेलाइटमार्फत आफ्नो प्रसारणलाई विश्वभर जोड्यो ।

यसैगरी प्रसारण प्रविधिलाई पछ्याउँदै दर्शकहरुलाई अझ गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले २०७८ साल भदौ २३ देखि एचडी प्रसारण प्रारम्भ भयो ।

ईमेज च्यानलले टेलिभिजन प्रसारणसँगै रेडियो पत्रकारितामा पनि नेतृत्वदायी उपस्थिति जनाउँदै आएको छ । २०५५ साल पुस २३ गतेदेखि केएटीएचको नामबाट एफएम प्रसारण सुरु ग¥यो । अहिले ईमेज एफएम ९७.९ को रुपमा यो एफएम २४ सै घण्टा समाचार, विचार र मनोरञ्जन लिएर स्रोताहरुबीच आइरहेको छ ।

यसैगरी ईमेज परिवारको अर्को सदस्यको रुपमा २०६५ भदौ २९ गतेदेखि प्रसारणमा आएको ईमेज न्युज एफएम १०३.६ ले नियमित समाचारका साथै हरपल सूचना र मनोरञ्जन प्रदान गरिरहेको छ ।

नयाँ मिडियाको रुपमा शुरु गरेको ईमेज खवर डट कमले निरन्तर सूचनाको अपडेटसँगै मानव अभिरुचिका विविध सामग्रीहरु प्रवाह गरिरहेको छ ।

अन्य डिजिटल प्लेटफर्ममा पनि ईमेजको उपस्थिति विस्तारित भइरहेको छ, जसले हरेक वर्ग र क्षेत्रमा विविध माध्यमबाट पहुँच कायम गर्न संभव भएको छ ।

ईमेज च्यानलले टेलिभिजनको दुनियाँमा सांगीतिक जगतकै महाउत्सवका रुपमा ईमेज अवार्डको आयोजना गर्दैै आएको छ । जसले प्रतिभालाई प्रोत्साहन र सर्जकलाई सम्मानको अवसर मात्र दिएको छैन, नेपाली गीत, संगीत एवं मौलिक कला र संस्कृतिको उन्नयनमा महत्वपूर्ण टेवा प्रदान गरेको छ ।

लोकदोहोरी, रोधीघर जस्ता लोक भाका र संस्कृति होस् वा मेघा मोडेल जस्ता नयाँ प्रतिभाको खोजीका रियालिटी शो वा नयाँ पुस्ताको रोजाइका हिपहप कार्यक्रम, ईमेज च्यानल नवीनतम प्रयोगका निम्ति जहिले पनि अग्रसर हँुदै आएको छ ।

विश्वसनीय समाचार, सन्तुलित विचार र स्वस्थ मनोरञ्जन ईमेज च्यानलको मूल नारा हो । छिटो हुने नाममा गलत सन्देश प्रवाह नगर्ने र सस्तो लोकप्रियताका निम्ति कुनै पनि सूचना वा विचारलाई अतिरञ्जित नगर्ने यसको व्यावसायिक धर्म हो । सत्य तथ्य र तटस्थता यसको मन्त्र हो । कला संस्कृति र गीत संगीतको माध्यमबाट स्वस्थ मनोरञ्जन यसको पहिचान हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमजनताको सर्वोपरि हित इमेज च्यानलको प्रतिवद्धता हो ।

यसैलाई केन्द्रमा राखेर ईमेज च्यानलले तपाईं दर्शक, पाठक तथा स्रोताको रोजाइका विविध कार्यक्रमको उत्पादन र प्रसारण गर्दै आएको छ । र, भावी दिनमा पनि यसलाई अझ परिष्कृत गर्दै नयाँ नयाँ कार्यक्रम लिएर दर्शकमाझ आउने प्रण गर्दछ ।

ईमेज च्यानलको २८औं वार्षिकोत्सवको यस सुखद् अवसरमा ईमेज च्यानल परिवार सम्पूर्ण दर्शक, स्रोता, पाठक, विज्ञापनदाता तथा शुभेच्छुक सवै महानुभाव र सहकर्मीहरुप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछ । र, भावी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछ ।