
एजेन्सी । अमेरिकाको लस एन्जलसमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । डढेलोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ भने ६० हजार घर जोखिममा परेका छन् ।
डढेलोका कारण बस्तीसहित ३८ हजार एकडभन्दा बढी जमिन जलेर मरुभुमिमा परिणत भएको छ । सयौँ घरहरू ध्वस्त भएका छन् भने जलेका गाडीहरुको कुनै लेखाजोखा छैन । बैंक, एटीएम काउन्टरहरू पनि भग्नावशेषमा परिणत हुँदा सर्वसाधारणको बिचल्ली भएको छ । डढेलो नियन्त्रणका लागि हजारौं अग्नीनियन्त्रक र विमानहरु परिचालन गरिँदा पनि डढेलो फैलने क्रम जारी छ ।
अमेरिकाका अन्य शहरहरु धुँवाले भरिएका छ्न् । लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपत्काल घोषणा गरेका छन् । वायुको गुणस्तर निकै प्रदूषित रहँदा स्वास्प्रश्वासमा समेत कठिनाइ भएको छ । यहाँको आकाश खरानीका सूक्ष्म कण र धुवाँले ढाकिएको छ । प्रशासनले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेको छ ।
गत सातादेखि शुरु भएको डढेलोका कारण लस एन्जलेसमा दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । डढेलोले दुई लाख घरधुरीमा विद्युत् अवरुद्ध भएको छ ।
यसैबीच क्यानडा सरकारले संयुक्त राज्य अमेरिकालाई सहयोग गर्ने भएको छ । क्यानडाले आगो निभाउन अग्निनियन्त्रकका साथै विशेष उपकरणहरु दिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्