काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कानूनी व्यवस्था परिवर्तन गरेरै भएपनि त्रिभूवन विश्वविद्यालयको सुधार गर्ने बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को साक्षात्कारमा शिक्षामन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले सबै विश्वविद्यालयहरु सुधान गर्न आवश्यक भएपनि सबैभन्दा पहिले त्रिभूवन विश्वविद्यालयको सुधार गर्नुपर्ने बताउनुभयो ।
शिक्षामन्त्री भट्टराईले विश्वविद्यालयहरुमा देखिएका समस्याहरु समाधान गर्न सबैभन्दा ठूलो भुमिका पदाधिकारीहरुले खेल्नुपर्ने बताउनुभयो । विश्वविद्यालयका पदाधिकारीहरु राजनीतिक विचारसँग आवद्ध भएकाले नेतृत्त्वदायी भुमिका खेल्न नसकेको उहाँको बुझाइ छ । उहाँले राजनीतिले मात्र पद निर्माण गर्छ भन्ने विचारको विकास गरिएका कारण राजनीतिक हिसाबले नजोडिए पदीय जिम्मेवारी सम्हाल्न नसक्ने विश्वविद्यालयका पदाधिकारीहरुको बुझाइ रहेको बताउनुभयो ।
शिक्षामन्त्री भट्टराईले विश्वविद्यालयको सुधारका लागि सबैको सहयोग र सहकार्यको आवश्यकता रहेको बताउनुभयो । उहाँले अनुदान आयोगलाई विश्वविद्यालयसँग सम्पर्क र समन्वय गर्नेसंस्थाको रुपमा विकास गरेको दाबी गर्नुभयो । आफू मन्त्री भइसकेपछि विश्वविद्यालयको सुधारका लागि आयोगसँग पटक पटक छलफल राखेको बताउनुभयो ।
शिक्षामत्री भट्टराईले भन्नुभयो, ‘सबै विश्वविद्यालय सुधार्ने हो । तर सबैभन्दा पहिला त्रिभूवन विश्वविद्यालय सुधार्ने हो । त्यसको लागि कानूनमा भएका कुराहरुलाई परिवर्तन गरेर भएपनि सुधार्ने हो । त्यसको लागि पदाधिकारीहरुलाई मैले कति सहयोग गर्नुपर्छ ? मैले आजसम्म १०० प्रतिशत भन्दिन ६० प्रतिशत सहयोग गरेको छु । ’
विश्वविद्यलयको सुधारका लागि सहयोग गर्न सरकार सधैं तत्पर रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्