काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा देखिएको मानव मेटाप्न्यूमो भाइरस (एचएमपीभी) साधारण भाइरस भएको प्रष्ट पारेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले त्यस्ता हल्लाको पछि नलाग्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।
जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक भएकाले भ्रममा नपर्न आग्रह गरेको हो । यसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको पनि मन्त्रालय जनाएको छ ।
मन्त्रालयले यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको सङ्क्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्तिहरू, साना बालबालिका र ज्येष्ठ नागरिकहरुमा मात्र हुने सम्भावना रहेको जानकारीसमेत गराएको छ ।
साथै मास्क लगाउन, भीडभाडमा नजान र सावधानी अपनाउन मन्त्रालयले सबैमा आग्रहसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्