१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


२०८७ मा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइप्रति विश्वप्रकाशको विमति


2.08k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति विमति जनाउनुभएको छ ।

बुधबार झापाको कचनकवलमा आयोजित नेपाली कांग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भन्ने भनाइप्रति विमति राख्नुभएको हो ।

महामन्त्री शर्माले एमाले केन्द्रिय कमिटीको बैठकमा २०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्ने धारणा राख्नुभएको भन्दै असहमति जनाउनुभयो । उहाँले सात बुँदे समझदारीताका संविधान संशोधन आजको आवश्यकता भएकाले यही जगमा पुनःमूल्यांकन गरेर संशोधन गर्ने भनेको बताउनुभयो ।

महामन्त्री शर्माले संविधान संशोधन गर्न राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)को सहभागिता आवश्यक रहेको भन्दै माओवादी केन्द्र बिना दुई तिहाईको गणित नपुग्ने बताउनुभयो । संविधान संशोधन गर्नका लागि गणितीय रुपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा नरहेको पनि स्पष्ट पार्नुभयो ।

सरकारमा रहेका दुई राजनीतिक दलहरुले सहमति र छलफल नगरी कसैलाई पनि संविधान संशोधनको मिति तोक्ने अधिकार नरहेको स्पष्ट पार्नुभयो ।

महामन्त्री शर्माले सबै राजनीतिक दलहरुलाई विश्वासमा लिएर संविधान संशोधन गर्न जरुरी रहेको बताउनुभयो । २०८७ मै संविधान संशोधन गर्ने भएपनि कांग्रेस र एमालेको छलफलपछि मात्रै भन्न पाउने बताउनुभयो । बिना छलफल २०८७ मा संविधान संशोधन गर्छौं भन्ने हक एमाले पार्टीको अध्यक्ष र कांग्रेसको महामन्त्री कसैलाई पनि नरहेको जिकिर गर्नुभयो ।