२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


नुवाकोटमा दोस्रो चरणमा कैदीबन्दी स्थानान्तरण


0
Shares

काठमाडौं । कारागार व्यवस्थापन विभागले दोस्रो चरण अन्तर्गत नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी स्थानान्तरण प्रारम्भ गरेको छ ।

गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा हाल ७ सय बढी कैदीबन्दी रहेका छन् । दोस्रो चरण अन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै हाल विभिन्न जिल्लाबाट कैदीबन्दी स्थानान्तरण गरिएको छ ।

जसमा केन्द्रीय कारागार (जगन्नाथदेवल), नक्खु कारागार ललितपुर, डिल्लीबजार कारागार काठमाडौं लगाएत अन्य जिल्लाका कैदीबन्दी रहेका छन् । देशका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारण कैदीहरुको व्यबस्थापनका लागि बनाइएको नुवाकोट कारागारलाई आधुनिक एवं औद्योगिक कारागारका रूपमा स्थापित गराउन आवश्यक संरचना क्रमशः निर्माण गर्दै अघि बढ्ने सरकारको योजना छ ।

देशभरका कारागारहरुमा करिब १३ हजार कैदीबन्दीको क्षमता भएतापनि कैदीबन्दीको संख्या २८ हजारभन्दा बढी रहेकाले नुवाकोटको केन्द्रीय कारागार बनाइएको हो ।