७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


‘एमाले केन्द्रिय कमिटि बैठकले सरकारलाई प्रभावकारी काम गर्न थप दिशा निर्देश गर्छ’


416
Shares

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सरकारको नेतृत्व एमालले नै गरिरहेको हुँदा जारी केन्द्रिय कमिटि बैठकले सरकारलाई प्रभावकारी काम गर्न थप दिशा निर्देश गर्ने बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले यस्तो बताउनुभएको हो ।

सचिव भट्टराईले बैठकले पार्टीलाई संगठिक बनाउँदै वैचारिक तथा राजनीतिक ढंगले सुव्यवस्थित बनाउन कार्यदिशा निश्चित गर्ने समेत बताउनुभयो । उहाँले संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने कानूनहरु बनाउँदै सुशासन कायम गर्ने दिशासा अगाडि बढिरहेको पनि बताउनुभयो । उहाँले सरकारले विधेयक र कानूनहरु बनाउन तथा आर्थिक लगानीको कुरामा जोड दिन कार्यदलहरु बनाएको उल्लेख गर्दै कार्यदलहरुको सुझावका आधारमा अघि बढ्ने बताउनुभयो ।

केन्द्रिय कमिटी सदस्य भानुभक्त ढकालले पार्टी नेतृत्वको बारेमा कुनैपनि विवाद नरहेको बताउनुभयो । उहाँले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने विषयमा केही कुरा नसुनेको उल्लेख गर्दै आत्मसन्तुष्टिको लागि हल्ला फैलाइएको बताउनुभयो । उहाँले नेतृत्वको बारेमा पार्टीमा कुनै विवाद नरहेको र यस विषयले केन्द्रिय कमिटिमा प्रवेश समेत नपाएको स्पष्ट पार्नुभयो ।

केन्द्रिय कमिटी सदस्य विशाल भट्टराईले २०८४ को निर्वाचनपछि एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने योजनाका साथ अघि बढिहरको बताउनुभयो । उहाँले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने विषयलाई बल पु¥याउने गरी अनुशासन लगायतका विषयमा बैठकमा छलफल जारी रहेको बताउनुभयो ।

जारी एमाले केन्द्रिय कमिटि बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।