६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


आफ्नो भूमि रक्षा गर्नको लागि सरकार कटिवद्ध छ : गृहमन्त्री लेखक


845
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नो भुमिको रक्षा गर्नको लागि सरकार कटिवद्ध रहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री लेखकले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भारतीय नागरिकले भोगचलन गरिरहेको कुरामा सरकारको गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले नेपाली भूमि भारतीय नागरिकले भोगचलन गरिरहेकोबारे सरकार जानकार र गम्भीर रहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले कञ्चनपुस्थित नेपाल–भारत सीमानाकामा सीमास्तम्भ पनि राख्नुपर्ने भएको कारणले कुटनीतिक छलपलबाट समस्याको समाधान गरिने बताउनुभयो । उहाँले सीमास्तम्भ राख्नको लागि सरकारका कुटनीतिक संयन्त्रहरुलाई जानकारी गराइसकेको बताउनुभयो ।

समिति बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू र एमाले सांसद रघुजी पन्तले कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरेको विषयमा गृहमन्त्री रमेश लेखकको जवाफ माग गर्नुभएको थियो । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपाली भूमिमा भारतीय नागरिकले भोगचलन गरिरहेको विषयमा सरकारको ध्यान नपुगेको हो कि गम्भिर नभएको ? भन्दै प्रश्न गर्नुभयो । उहाँले यस विषयलाई गम्भिरताका साथ लिएर सरकारले कदम चाल्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)का सांसद रघजी पन्तले जनपुरमा भारतीय नागरिकले उपभोग गरिरहेको, खेती गरिरहेको जमिन नेपालको स्वाममित्वमा ल्याउने कुरामा सरकारले के गरिरहेको छ ? भन्दै गृहमन्त्रीको जवाफ माग गर्नुभएको थियो । उहाँले सिमा विवाद समेत नभएको हुनाले सरकारले सीमास्तम्भ राखेर सिमाको समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले भारतीय नागरिकले नेपालको भूभाग भोगचलन गरिरहेको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै आवश्यक कदम पश्चात समितिलाई जानकारी गराउन माग गर्नुभयो ।

सञ्चारमाध्यममा उठको भूमिसम्बन्धी मुद्दामा सरकारले तदारुकताका साथ समाधान गर्नतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ ।