काठमाडौं । प्यालेष्टिनी विद्रोही समुह हमासले कब्जामा रहेकी इजरायली युवतीको भिडियो सार्वजनिक गरेको छ ।
हमासले गत वर्षको अक्टोबर ७ मा कब्जामा लिइएकी इजरायली युवती १९ वर्षीया लिरी अलबागको भिडियो सार्वजनिक गरेको हो । इजरायलसँग युद्धविराम र बन्दी रिहाइ सम्बन्धी सम्झौताबारे कतारमा वार्ता शुरु भएको केही समयमानै हमासले सार्वजनिक गरेको भिडियोमा अलबागले इजरायल सरकारलाई सम्झौतामा पुग्न अनुरोध गरेको देखाइएको छ ।
हमासले गाजासँगको सीमामा रहेको सेनाको नहाल ओज आधार शिविरमा आक्रमण गरेर ६ जना महिला सिपाहीलाई बन्दी बनाएको मध्ये अलबाग पनि एक हुन् । बाँकी पाँच जनाको भने अवस्था अज्ञात छ । उनको भिडियो सार्वजनिक भएकोमा भने उनको परिवारमा रुवाबासी चलेको छ ।
अलबागको अभिभावकले छोरीलाई यस्तो हालतमा देखेर आफूहरुलाई सम्हाल्न गाहे भएको भन्दै उनका अभिभावकहरुले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुलाई अलबागको ठाउँमा आफ्नै छोरीलाई राखी हेर्न धम्की समेत दिएका छन् । हमासको कब्जामा अझै नेपाली नागरिक बिपीन जोशीसहित सयभन्दा बढी व्यक्ति रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्