२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


म्यानमारले ६ हजार कैदी बन्दी रिहा गर्दै


0
Shares

एजेन्सी । म्यान्मारको जुन्ता सरकारले स्वतन्त्रता दिवसको उपलक्ष्यमा करिब ६ हजार कैदीलाई रिहा गर्ने घोषणा गरेको छ । म्यान्मार ७७ वर्ष पहिले बेलायती औपनिवेशिक शासनबाट जनवरी ४ मा स्वतन्त्र भएको थियो ।

स्वतन्त्रता दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै जुन्ता सरकारले १८० विदेशीसहित ५ हजार ८ सयभन्दा बढी कैदीलाई रिहा गर्ने घोषणा गरेको हो ।

यसैगरी आजीवन कारावासको सजाय सुनाइएका १४४ जनाको सजाय घटाएर १५ वर्षमा झार्ने पनि घोषणा गरेको छ । माफी दिइएका विदेशीमध्ये अधिकांश थाइल्याण्डका नागरिक रहेको र उनीहरुलाई सीमामा रहेको क्यासिनोमा पक्राउ गरिएकाहरु रहेका छन् ।

सेनाले मानवीय र अनुकम्पाको आधारमा माफीको आदेश दिएको जनाएको छ । आममाफी पाउनेहरुलाई आज रिहा गरिनेछ । गत वर्ष पनि सरकारले स्वतन्त्रता दिवसकै अवसरमा ९ हजारभन्दा बढी कैदीलाई रिहा गरेको थियो ।

यसैबीच म्यानमारले राजधानी न्यापितमा आयोजना गरेको वार्षिक स्वतन्त्रता दिवस समारोहमा करिब ५०० सरकारी तथा सैन्य उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित नभएका जुन्ता प्रमुख मिन आङ ह्लाइङले दिएको सम्बोधन वाचन गरिएको थियो ।