१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकाय बनाउने सम्बन्धी ऐन सरोकारवालाई बेवास्ता गरेर बन्दैन


0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकाय बनाउनेसम्बन्धी विधेयक प्राधिकरणको गरिमालाई उँचो बनाउने गरी निर्माण हुने बताउनुभएको छ ।

मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले हालै मन्त्रिपरिषद्ले नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकाय बनाउनेसम्बन्धी विधेयक पास गेको उल्लेख गर्दै आगामी संसदमा यसबारे छलफल भइ पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पाण्डेले यसअघि पनि लामो छलफलपछि राष्ट्रिय सभाले पारित गरिसकेपछि प्रतनिधि सभामा रोकिएको अवस्थामा अहिलेको सरकारले मन्त्रीपरिषद्बाट पास गरिसकेको जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले पास गर्दैमा ऐन निर्माण नटुंगिने र ऐन निर्माणको प्रक्रिया औपचारिक रुपमा प्रारम्भ भएको उल्लेख गर्नुभयो ।

मन्त्री पाण्डेले सरोकारवालालाई बेवास्ता गरेर ऐन नबन्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कर्मचारीहरुको सेवा सुविधा घट्ने गरी ऐन नबन्ने दाबी गर्नुभयो ।

मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमका विमानहरु पनि प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको र विमानहरुको संख्यामा पनि कमी रहेको बताउनुभयो । उहाँले नेपाल वायुसेवा निगमका विमानहरुको संख्यालाई व्यवस्थापन गर्नेतिर सरकारले सोचिरहेको बताउनुभयो ।