काठमाडौं । प्रदेश मन्त्रीहरुले बालविवाह अन्त्यका लागि अन्तरक्रिया र गोष्ठी नभई तीन तहका सरकारले जिम्मेवार भएर अभियान सञ्चलान गर्न जरुरी रहेको बताउनुभएको छ ।
मंगलबार ललितपुरमा बालविवाहमुक्त नेपाल अभियान सञ्चालनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश मन्त्रीहरुले यस्तो बताउनुभएको हो ।
बालविवाह न्युनिकरणका लागि समाजसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारलाई सक्रिय बनाउनुपर्नेमा उहाँहरुको जोड छ । बालविवाह अन्त्यका लागि सबै तहका सरकारले आ-आफ्नो ठाउँबाट महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको प्रदेशमन्त्रीहरुले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बाल विवाहको अन्त्यको लागि अन्तरक्रिया नभई अभियानको थालनी गर्नुपर्ने बताउनुभयो । सामाजमा मानवीयता हराउँदै गएको उल्लेख गर्दै उहाँले समाजलाई लयमा ल्याउन सबैले जिम्मेवार भएर कानूनको अक्षरशः पालना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले बालविवाहको समस्याले समग्र देश प्रताडित बनेको बताउनुभयो । उहाँले मधेश प्रदेश सबैभन्दा धेरै बाल विवाहको समस्या झनै विकराल बन्दै गइरहेको उल्लेख गर्दै बालविवाह मुक्त अभियानको थालनी गर्न नहुने बताउनुभयो । उहाँले बालविवाह हुनुका मुख्य कारक तत्वहरुको पहिचान गरी सोहीअनुसारको योजना बनाउँदै अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले बालविवाहसँगै दाइजो प्रथाको अन्त्य गर्न अभियानको थालनी गर्न विलम्व गर्न नहुने उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले बालविवाह न्युनिकरणका लागि तीनै तहको सरकारले सहकार्य र समन्वयकारी भुमिका खेल्न जरुरी रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारलाई बाल ववाह न्युनिकरणका अझै सक्रिय बनाउन जरुरी रहेको बताउनुभयो ।
मन्त्री राईले समग्र मुलुकका बालबालिकाहरु बाल विवाहको चक्तव्युहमा फसिरहेको उहाँको भनाइ छ । उहाँले प्रदेशमा बालविवाह न्युनिकरणका लागि प्रदेश सरकार लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा अधिकांश वक्ताहरुले बालविवाहका कारण समग्र मुलुकको शिक्षा र प्रजजन स्वास्थ्यको क्षेत्र चुनौतिपूर्ण बन्दै गएको बताउनुभयो । विद्यमान कानूनको पुनर्निर्माण र कार्यान्वयनमा उहाँहरुको जोड छ ।
प्रतिक्रिया दिनुहोस्