काठमाडौं । अंग्रेजी वर्ष सन् २०२४ आजदेखि सधैंका लागि बिदा हुँदैछ । ग्रेगोरियन पात्रो अनुसार बुधबारदेखि नयाँ वर्ष २०२५ प्रारम्भ हुने संघारमा विश्व रहेको छ । सन् २०२४ पनि विश्वमा नयाँ आशाको किरण नछरी बिदा हुने पक्का भएको छ ।
सन् २०२४ पनि विश्वभर विभिन्न सङ्कटहरूले घेरिएको वर्षको रुपमा बित्यो । अघिल्ला वर्षहरुले निम्त्याएका युद्धका घाउहरु जस्ताको तस्तै छाडेर ०२४ बिदा भएको छ । यही वर्ष विश्वमा धेरै ठूलाठुला घटना तथा प्रकोपहरू भए र जसको प्रभाव लामो समयसम्म महसुस गर्नुपर्ने छ ।
सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणले उत्पन्न गरेका समस्याहरु २०२४ मा पनि जारी रहे । बरु मध्यपूर्वमा त्यसका ज्यादा प्रभाव देखिए । इजरायलले गाजामा जारी राखेको आक्रमणबाट यही वर्षको अन्त्यसम्ममा मृत्यु हुने प्यालेस्टिनीहरुको संख्या ४५ हजार नाघेको छ । त्यस मध्ये १७ हजार बढी त बालबालिका मात्रै रहेका छन् । इजरायली आक्रमणका कारण उत्तरी गाजा मानवीय संकटको अवस्था छ ।
यो वर्ष इजरायलको हकमा भने सफल वर्षको रुपमा लिन सकिन्छ । इजरायलले हमासका नेता याह्या सिनवारको हत्यासहित धेरै रणनीतिक विजय हासिल ग¥यो । गत अप्रिलमा इजरायलले दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा बम प्रहार गरेपछि इरानले इजरायलमा अभूतपूर्व मिसाइल र ड्रोन आक्रमण ग¥यो । इजरायलले अमेरिका र पश्चिमी सहयोगका साथ आक्रमणलाई पराजित ग¥यो ।
गत जुलाईमा तेहरानमा इरानका नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहणमा सहभागी भएका हमासका वरिष्ठ नेता इस्माइल हानियाको पनि हत्या गर्न इजरायल सफल बन्यो । इस्माइल हानियाको हत्याको बदला लिने अपेक्षा गरिएको इरानले भने दुई महिनापछि मात्रै इजरायलमाथि क्षेप्यास्त्र आक्रमण ग¥यो । तर इजरायलले गरेको जवाफी आक्रमणले इरानको क्षेप्यास्त्र उत्पादनलाई कमजोर मात्रै बनाएन उसको हवाई सुरक्षा प्रणालीलाई समेत ध्वस्त बनाईदियो ।
यसै वर्षको सेप्टेम्बरदेखि इजरायलले लेबनानी हिजबुल्लाह समूहमाथि निशाना साँध्न थाल्यो । हिजबुल्लाह लडाकुले बोक्ने सञ्चार उपकरण पेजर विष्फोट गराएर शुरु गरेको हिजबुल्लाह विरुद्धको कारबाही लेबनानमाथि प्रत्यक्ष आक्रमणमा परिणत भयो । पेजर विष्फोट लगत्तै इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता हसन नसरल्लाह मारिए । त्यसपछि इजरायली स्थल सेनाले दक्षिणी लेबनानमा स्थलगत आक्रमण नै शुरु ग¥यो । इजरायल र हिजबुल्लाहको टक्करले सिंगो मुस्लिम विश्व युद्धमा होमिने त होइन भन्ने आशंका बढिरहेका बेला अमेरिकी मध्यस्थतामा अस्थायी युद्ध विराम संभव भयो ।
यसै वर्ष सिरियामा झण्डै एक दशकदेखि आतंकपूर्ण शासन संचालन गर्दै आएका राष्ट्रपति बशर अल–असदको सत्ता ढल्यो । उनी देशै छाडेर पलायन हुनुप¥यो भने दमास्कसमा इस्लामवादी विद्रोही समूह हयात ताहरिर अल–साम (एचटिएस) ले सत्ता कब्जा ग¥यो । बसर अल असदको सत्ता ढलेपछि विगत दश वर्षमा असदले गरेको मानवीय त्रासदीका घटना एक पछि अर्को गर्दै बाहिर आउने क्रम शुरु भएको छ ।
उता, सन् २०२२ फेब्रुअरी २४ देखि शुरु भएको रुस–युक्रेन युद्ध यो वर्ष पनि जारी रह्यो । पश्चिमा देशहरुले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिँदा युक्रेनले रुसको कुस्र्क क्षेत्रमा लामो समय कब्जा जमाउन सmपल भयो ।
यसै वर्ष रुस युक्रेन युद्धमा उत्तर कोरिया पनि जोडिन पुगेको छ । अमेरिकालगायत पश्चिमा देशहरुले ११ हजारभन्दा बढी उत्तर कोरियाली सैनिक रुसको पक्षबाट लडिरहेको भने पनि स्वतन्त्र पुष्टि भने हुन बाँकी छ । यो वर्ष रुसी सेनामा भर्ति हुन पुगका थुप्रै नेपालीहरुले ज्यान गुमाउनु परेको छ ।
उता, सुडानमा सन् २०२३ को अप्रिलमा शुरु भएको गृहयुद्ध यो वर्ष पनि जारी रहेको छ । जनरल अब्देल फताह अल–बुरहानको नेतृत्वमा सुडानी सशस्त्र बल (एसएएफ) र मोहम्मद हमदान ‘हेमेदी’ दागालोको नेतृत्वमा रहेको र्यापिड सपोर्ट फोर्सबीच बेला बखत भीषण संघर्ष हुने क्रम जारी छ । राजनीतिक उथलपुथलका घटनाक्रममा यो वर्ष बंगलादेश पनि थपियो । बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलनले १५ वर्षदेखि सत्तामा रहेकी शेख हसिना वाजेदको सरकार ढल्यो भने हसिना देश छाडेर भारत प्रवासमा जानु पर्यो ।
यसै वर्षमा अमेरिका, बेलायत र भारत जस्ता विश्वका ठूला प्रजातान्त्रिक मुलुकहरुमा निर्वाचनबाट नेतृत्व परिवर्तन भएको छ । भारतमा गत अप्रिलदेखि जुनसम्म भएको निर्वाचनबाट भारतीय जनता पार्टीले बहुमत गुमाउन पुग्यो । दुई दुई पटकसम्म शक्तिशाली प्रधानमन्त्री बन्नुभएका नरेन्द्र मोदी गठबन्धन सरकार चलाउन बाध्य हुनुभयो ।
उता, बेलायतमा कञ्जरभेटिव्सहरुलाई पराजित गर्दै लेबर पार्टीले बहुमत ल्याउन सफल भयो भने किएर स्टारमर प्रधानमन्त्री बन्नुभयो । यसैगरी विश्व शक्ति राष्ट्र अमेरिकामा गत नोभेम्बरमा सम्पन्न चुनावले विश्वलाई नै तरंगित गर्ने गरी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई जिताइदियो । आगामी जनवरी २० मा शपथ लिएर सत्ता सम्हाल्ने तयारीमा रहनु भएका ट्रम्प आफूले भारी बहुमतले मात्रै जित्नु भएको छैन, अमेरिकी संसदका दुवै सदनमा रिपब्लिकनको पकड कायम भएको छ ।
वर्षान्त हुदै गर्दा दक्षिण कोरियामा दुई साताको बीचमा दुई जना राष्ट्रपतिमाथि महाअभियोग लाग्यो । प्राकृतिक विपत्तिका घटना पनि यो वर्ष निरन्तर रहे । बढ्दो जलवायु परिवर्तनका कारण विश्वका हरेक क्षेत्रमा अस्वाभाविक घटनाक्रमहरु भइनै रहे । विशेषगरी अतिवृष्टिको समस्या सबैतिर भोग्नु पर्यो । युएईमा अति वृष्टिका कारण बाढी आउँदा कैयौं दिनसम्म दुबईलगायतका शहर जलमग्न भए । जलवायु परिवर्तनका कारण उत्पन्न गतिविधिका कारण यस वर्ष सयौंको ज्यान गएको छ ।
उता साउदी अरबको मरुभूमि क्षेत्रमा व्यापक हिमपात पनि यही वर्ष भयो । वर्षको अन्तिम सातातिर भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह र अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टर पनि धरतीबाट सदाका लागि बिदा भए । नयाँ वर्ष २०२५ सिंगो विश्वका लागि शान्ति, समृद्धि र सुखद् बन्न सकोस, हाम्रो पनि शुभकामना ।
प्रतिक्रिया दिनुहोस्