६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौं : घिसिङ


1.768k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताउनुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट आगामी असारभित्रमा वित्तीय व्यवस्थापन गर्नेगरी प्रक्रिया अगाडि बढिरहेको बताउनुभएको हो ।

कार्यकारी निर्देशक घिसिङले असारभित्र पनि वित्तीय व्यवस्थापन हुन नसके स्वदेशी बैंक तथा वित्तीय संस्था र नेपाली जनताको लगानीमा माथिल्लो तामाकोशीको मोडलमा निर्माण गर्ने योजना रहेको उल्लेख गर्नुभयो । उहाँले प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजनालाई नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लावासी, सर्वसाधारणको शेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी ‘ब्लेन्डेड फाइनान्सिङ’ (मिश्रित लगानी)को नमूना परियोजनाको रूपमा अगाडि बढाउन खोजिरहेको बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले १ हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना नेपालको लागि अत्यावश्यक रहेको भन्दै तत्काल बन्न जरुरी रहेको बताउनुभयो । उहाँले विश्व बैंक,एडिबी लगायत अन्य विकास साझेदारहरुबाट वित्तीय व्यवस्थापन नभए आयोजना नेपाली जनता र नेपालका वित्तीय संस्थाहरुबाट नै बन्नसक्ने अवस्था रहेको पनि बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले अहिले आयोजनास्थलमा निर्माण पूर्वको तयारी भइरहेको भन्दै आयोजनाको वित्तीय व्यवस्था गरी जतिसक्दो छिट्टो निर्माणमा लैजान जरुरी रहेको बताउनुभयो । उहाँले आयोजना निर्माणको लागि ५३ अर्बको सम्झौता भइसकेको पनि बताउनुभयो । उहाँले दुधकोशी पनि ६७० मेगावट आयोजनाको तयारी पूरा भएको पनि जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादित विद्युत गुणस्तरीय सप्लाईको लागि आवश्य ट्रान्समिसन लाइनहरु पनि क्रमिक रुपमा बनाउँदै गएको बताउनुभयो । उहाँले प्राधिकरणले बनाउन शुरु गरेको ट्रान्समिसन लाइनहरु प्रायः सम्पन्न हुने तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले बुटवलदेखि बर्दघाटसम्मको १२० के।भीको ट्रान्समिसन पनि सम्पन्न भएको बताउनुभयो ।