काठमाडौं । निजामती कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) सहमत भएका छन् ।
बिहीबार राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामित सेवा विधेयकमाथिको छलफलमा कर्मचारीका ट्रेड युनियनबारे दुई दलका प्रमुख सचेतकले समान धारणा राखेका हुन् ।
विधयकका सम्बन्धमा पार्टीका प्रमुख सचेतक तथा सचेतकहरुसँगको छलफलमा बोल्ल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कर्मचारीहरुलाई दलगत ट्रेड युनियन खोल्न दिन नहुने बताउनुभयो । उहाँले कानूनमा समेत सरकारी संस्थामा आवद्ध व्यक्तिले कुनैपनि पार्टीको सदस्यता लिन नपाउने व्यवस्था गरेको बताउनुभयो । उहाँले कर्मचारीहरुको एउटा मात्र ट्रेड युनियन राख्नुपर्ने बताउनुभयो । निजामति कर्मचारीका लागि एउटा मात्र ट्रेड युनियन राख्नुपर्ने र अधिकृतभन्दा माथिल्लो दर्जाका कर्मचारीले त्यसको सदस्यता लिन नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
बैठकमा बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीको ट्रेड युनियनलाई व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले कर्मचारीमो पेसागत प्रवद्र्धनको हितसँग जोडिएका कुराहरुमा हामीले बन्देज लगाउन उपयुक्त नभएपनि ट्रेड युनियनहरु राजनीतिक क्रियाकलापमा संलग्न हुने गरेको बताउनुभयो । प्रमुख सचेतक बर्तौलाले कर्मचारीको लागि एक मात्र टे«ड युनियन राख्नुपर्ने बताउनुभयो । उहाँले राज्यको नीतिगत निर्णयमा सहभागि हुने कर्मचारीले कुनैपनि ट्रेड युनियनको सदस्यता लिन नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
दुवै राजनीतिक दलहरुले कर्मचारीको एउटै ट्रेड युनियन बनाउनुपर्ने र उक्त युनियनमा नीतिगत निर्णयमा सहभागि हुने कर्मचारी आवद्ध हुन नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्