काठमाडौं । मुग्लिन-पोखरा सडक योजना (पश्चिम खण्ड)को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्ग विस्तार कार्यअन्तर्गत जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक म्याद थप गरिएको हो ।
मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त सडक खण्डको म्याद आगामी २०८२ साल पुस १६ गतेसम्मका लागि थप गरिएको हो ।
पश्चिम खण्डमा २०७८ साल जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम शुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ ।
सडक विस्तारको कार्यका लागि विसं २०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यसअवधिमा उल्लेखनीय प्रगति नभएपछि पहिलोपटक एक सय एक दिनका लागि म्याद थप भएको थियो ।
अहिले दोस्रो पटक थपिएको म्यादभित्रै काम सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । हालसम्म यो खण्डमा ३४ दशमलव ९४ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।
एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा चार लेनको बनाउन लागिएको पश्चिम खण्डको सडकको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्