काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वतन्त्रताप्रेमी नेपालीहरुको योगदानका कारण अहिलेको उपलब्धि प्राप्त भएको बताउनुभएको छ ।
मंगलादेवी सिंहको जन्म शताब्दीको अवसरमा उहाँको शालिकमा माल्यार्पण गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले भेला हुन पाउने, बोल्न पाउने अधिकार नेपालीहरुको योगदानकै कारण सम्भव भएको बताउनुभयो । उहाँले मंगलादेवी सिंह नेपाली महिलाहरुको अधिकार प्राप्तिका लागि आन्दोलनको अगुवाइ गर्ने व्यक्ति भएको बताउनुभयो ।
मंगलादेवी सिंहले नेपाली महिलाको अधिकार र स्वतन्त्रताका लागि २०३६ सालमा जनमत संग्रहमा महिलाहरु एकीकृत गरेर बहुदललाई मत दिन आह्वान गर्न देशभर आन्दोलन र प्रचारप्रसार गर्नुभएको उपप्रधानमन्त्री सिंहले बताउनुभयो । उहाँले ०४२ सालको सत्याग्रह र ०४६ सालमा भएको जनआन्दोलनमा २०१७ सालमा गुमेको उपलब्धी फर्काउन स्व. सिंहले अविष्मरणीय योगदान गर्नुभएको बताउनुभयो ।
स्व. मंगलादेवीले आफ्नो जीवनकालमा पैतृक सम्पत्तिमा महिलालाई पनि अधिकार दिलाउनुपर्छ भनेर आवाज उठाउनुभएको उपप्रधानमन्त्री सिंहले बताउनुभयो । साथै उहाँले नीति निर्माण गर्ने थलोमा महिलाको सुनिश्चितता हुनुपर्ने आवाज उठाउनुभएको बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले महिलाको पनि पुरुषसरह अधिकार हुनुपर्ने मागसहित २००४ सालमा मंगलादेवी सिंहले गर्नुभएको योगदानको स्मरण गर्नुभयो । महिलालाई मताधिकार दिनुपर्ने माग पनि स्व. मंगलादेवी सिंहले नै उठाउनुभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्