१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


मुग्लिन–पोखरा सडकको रातिको अवरोध हट्यो


0
Shares

काठमाडौं । पृथ्वीराजमार्गमा रातिको समयमा सडक विस्तारका लागि गरिएको अवरोध हटेको छ । राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा निर्माण कार्य गर्न रातिको समयमा गरिएको अवरोध सोमबारदेखि हटेको हो ।

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएको थियो । गत मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ बजेदेखि बिहान ४.३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्काे सूचना प्राप्त नहुञ्जेलसम्मका लागि बाटो खुला गरी सवारी आवागमन सञ्चालन गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

रातिको समयमा गरिँदै आएको काम हाललाई रोकिएको र अब उक्त खण्डमा रातिमा पनि सवारीसाधन सञ्चालनमा आउने इन्जिनियर पाण्डेले बताउनुभयो ।

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । यस्तै पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण गरिएका छन् । पूर्वी खण्डको २०७७ माघमा सम्झौता भएको हो भने २०७८ वैशाखदेखि कामको शुरुवात भएको थियो ।