७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


जनताको भरोसा र अभिमतलाई रक्षा गर्न नसकेको अध्यक्ष दाहालको स्वीकारोक्ति


598
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनताले पार्टीप्रति गरेको भरोसा र व्यक्त गरेको अभिमतलाई रक्षा गर्न नसक्दा कार्यकर्ता र कर्मचारीहरुमा असन्तुष्टि बढ्दै गएको स्वीकार गर्नुभएको छ ।

सोमबार नेपाल राष्ट्रिय कर्मचारी महासंघको १८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष दाहालले जनताको विश्वासअनुसार पार्टीलाई एकतावद्ध गरेर जनभावनालाई उच्च सम्मान गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्न नसकेको कारण जनता र कार्यकर्तामा असन्तुष्टि बढेको बताउनुभयो । उहाँले माओवादी घटकहरु समय समयमा विभाजित भएको उल्लेख गर्दै विभाजनका घाउहरु बल्झिँदै गएको बताउनुभयो ।

माओवादी केन्द्रले आफ्ना एजेण्डाहरुमा निरन्तरता दिन नसक्दा पार्टीप्रतिको जनताको एकता, निष्ठा र लगाव कमजोर हुँदै गइरहेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले राम्रा काम गर्न खोज्दाखोज्दै पनि गर्न नसकिएको कारण माओवादी केन्द्र आत्मसमिक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताउनुभयो ।

काम गर्दै जाँदा केही कमजोरी भएपनि गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा भौतिक पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण थालनी गरेको उहाँको दाबी छ ।