काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तीन वटा वामपन्थी राजनीतिक दलका नेताहरुसँग राजनीतिक ध्रुविकरणका लागि वार्ता गरेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष दाहालले तीन वामपन्थी दलका नेताहरुसँग शनिबार बिहानमात्रै संवाद भएको र संवाद सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले वामपन्थी नेताहरु केही माओवादी आन्दोलनसँग पनि केन्द्रित रहेको र केही त्यो भन्दा बाहिरका वामपन्थी समाजवादी धारासँग सम्बन्धित रहेको उल्लेख गर्नुभयो ।
यद्यपि नेताहरुको नाम भने खुलाउन चाहनुभएन । वामपन्थी नेताहरुले सबै एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको कुरा गरेको उल्लेख गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई ठिक ढंगले कार्यान्वयन गर्न सबै वामपन्थी एकतावद्ध हुनुपर्ने बताउनुभयो । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा शिक्षकहरुको भुमिका महत्वपूर्ण भएको बताउनुभयो ।
अध्यक्ष दाहालले आगामी हिउँदे अधिवेशनमा शिक्षा विधेयक आवश्यक संशोधन र परिमार्जनसहित पारित हुने प्रतिवद्धता जनाउनु भयो । उहाँले शिक्षकहरुको माग पूरा गरेर मात्रै विधेयक पारित गर्ने बताउनुभयो । शान्ति प्रक्रियाका बाँकी कामहरु अन्तिम चरणमा पुगेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्