१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


फुटबलमा नेपालको पहिलो बायोपिक चलचित्र बन्दा खुशी छु : चेम्जोङ


1.404k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले फुटबलमा नेपालको पहिलो बायोपिक चलचित्र बन्दा खुशी लागेको बताएका छन् ।

बुधबार काठमाडौंमा चलचित्र अञ्जिलाको बारेमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै कप्तान चेम्जोङले फुटबलको क्षेत्रमा नेपालको पहिलो बायोपिक चलचित्र बन्दा खुशी लागेको बताएका हुन् । उहाँले अञ्जिला चलचित्र १ सय करोडमा कमाउने क्लवमा दर्ता हुनेमा विश्वस्त रहेको बताए ।

चलचित्र अञ्जिलाको निर्माण टिमले बुधबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । जसमा नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान चेम्जोङ, महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बाहाम्फो, प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका सांसद सुहाङ नेम्वाङ रहनुभएको थियो ।

चलचित्र नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बाहाम्फोको जीवनीमा केन्द्रित छ । कार्यक्रममा बोल्दै कप्तान एञ्जिलाले पहिलो पटक युरोपमा खेल्न जाने मौका मिलेको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा बोल्दै नेकपा एमाले सांसद सुहाङ नेम्वाङले एञ्जिलाको जीवनीबाट सपनाको कुनैपनि सीमाना नहुने कुरा प्रमाणित हुने बताए ।

निर्देशक मिलन चाम्सले चलचित्र निकै रोचक रहेको बताए । एञ्जिलाको संघर्ष र सफलताको कुराहरु कथामा समेटिएको र कथाले अन्य खेलाडीहरुलाई प्रेरणा मिल्ने बताए ।

निर्देशक चाम्सले चलचित्र हेर्न जान सबै दर्शकहरुसँग आग्रह गरे । चलचित्र अञ्जिला माघ ११ गतेबाट देशभर प्रदर्शन हुँदैछ । चलचित्रमा एञ्जिला स्वयंको मुख्य भुमिका रहेको छ भने दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का लगायतको पनि अभिनय छ ।