काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्ने बताउनुभएको छ ।
बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसबारे बोल्दै सभापति देउवाले यस्तो बताउनुभएको हो ।
सभापति देउवाले पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा सम्बन्धीको ऐन ल्याउने विषयले निकै चर्चा पाएको उल्लेख गर्नुभयो । उहाँले यि तीन वटै विधेयकहरु छिटो ल्याउन कांग्रेसले पहल गर्ने बताउनुभयो ।
सभापति देउवाले पछिल्लो समय कक्षा १२ उत्तिर्ण हुने बित्तिकै विद्यार्थी विदेशिने समस्या डरलाग्दो रुपमा देखिएको बताउनुभयो । उहाँले मुलुकमा सञ्चालित क्याम्पसहरु विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्यमुलुक बनाउनुपर्नेमा नेपाली विद्यार्थी नै विदेश पलायन हुनु दुःखद् भएको बताउनुभयो ।
सभापति देउवाले युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्न आवश्यक रहेको बताउनुभयो । यसका लागि विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयअनुसार परिवर्तन र परिमार्जन गर्न आवश्यक भएको सभापति देउवाको भनाइ छ ।
सभापति देउवाले अबको ४०/५० वर्षको अनुमान गरेर मुलुकले अवलम्वन गर्नुपर्ने शिक्षा नीति निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षामा रुपान्तरण, शिक्षामा बजेट वृद्धि गर्न जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्