काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लले जलविद्युत उत्पादनको लागि लगानीकर्तालाई सहज प्रक्रिया बनाए मात्रै विद्युत उत्पादनमा सरकारले लिएको लक्ष्य पूरा हुने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उपसभापति वाग्लले यस्तो बताउनुभएको हो ।
उपसभापति वाग्लले नेपालमा जलविद्युतको ठूलो सम्भावना भएपनि लगानीको लागि ठूलो जोखिम मोल्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले एउटा सानो ४३ मेगावटको जलविद्युत आयोजना निर्माणको लागि ७ मन्त्रालय,२४ भन्दा बढी विभाग र ४५ प्रक्रिया पूरा गर्नुपर्ने लामो प्रक्रिया रहेको बताउनुभयो ।
उपसभापति वाग्लले सानो क्षमताको जलविद्युत आयोजना अगाडि बढाउनको लागि पनि धेरै मेहनत,संर्घष,अफ्ठ्यारा र अवरोधहरु झेल्नुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले मुलुकभित्र गरिखाने वातावरण बनाउनु पाप नै गरेको जस्तो देखिएको बताउनुभयो ।
उपसभापति वाग्लले लगानीकर्ताले गर्नुपर्ने अनावश्यक प्रक्रिया र नीतिगत समस्याहरु सरकारले खारेज गनुपर्ने बताउनुभयो । उहाँले जलविद्युत क्षेत्रको विकास गरी उत्पादन वृद्धिको लागि रिफर्मको आवश्यकता देखिएको बताउनुभयो । उहाँले संसदमा विद्युत ऐन लगायतका ऐनहरुको छलफल पनि कर्मकाण्डी हुने गरेको बताउनुभयो ।
उपसभापति वाग्लले संसदमा प्रतिनिधित्व गर्ने दल काँग्रेस,एमाले,माओवादी र रास्वपाले पनि स्वार्थ समूह वा व्यवसायीहरुले बुझाएको कुरा राखेर विधेयकमा संशोधन हाल्ने गरेको उल्लेख गर्नुभयो । उहाँले अहिले सहकारीको विषय चर्चित रहेको भन्दै २०७४ को सहकारी ऐन आउँदा ६९२ संशोधन हालिएको बताउनुभयो ।
उपसभापति वाग्लले कुनैपनि सांसदहरुले अध्ययन गरेर ड्राफ्ट गरेर संशोधन नहाल्ने भन्दै बाहिरबाट बनाएका बुँदाहरु राखेर संशोधन हाल्ने बताउनुभयो । उहाँले जलविद्युतसम्बन्धी केही ऐनहरु आउँदा पनि यथार्थ छलफल नभई समितिहरुमा कर्मकाण्डी रुपमा ऐन पास हुँदा समस्या आएको बताउनुभयो ।
फरक प्रसंगमा उहाँले कास्की जिल्लाको सिक्लेससँग भावनात्मक सम्बन्ध जोडिएको बताउनुभयो । उहाँले गत वर्ष राजनीति दल परिवर्तन गरेर चुनाव लड्नु भन्दा अगाडि सिक्लेस पुगेको बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँमा चुनाव लड्ने निर्णय सिक्लेसमा गरेको बताउनुभयो ।
उहाँले आफ्नो जीवनको ठूलो जोखिम उठाएर सिक्लेसबाट निर्णय गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्