काठमाडौं । राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देवीदत्त आचार्यले राज्यले प्रदान गर्दै आएको अपाङ्गता भएका व्यक्तिहरुको हक र अधिकारबाट अझै पनि ग्रामिण र दुर्गम भेगका नागरिक वञ्चित रहेको बताउनुभएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमाबार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष आचार्यले अपाङ्गता भएका नागरिकहरुप्रति ८ जनामध्ये एक जनाले मात्र राज्यले प्रदान गर्दै आएको सहायक सामग्री प्राप्त गर्ने गरेको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामाग्री वितरण गर्ने सरकारी मापदण्डको कार्यान्वयनमा राज्य संयन्त्रहरु नै कमजोर रहेको बताउनुभयो ।
अध्यक्ष आचार्यले सरकारले बनाएका नियम र कानूनमा उल्लेखित भएका कुराहरुलाई अपाङ्गता भएका व्यक्तिहरुका जीवनमा सुनिश्चित हुनेगरी राज्यले आफ्नो क्षमता विकास गन जरुरी रहेको उहाँको भनाइ छ ।
अध्यक्ष आचार्यले हालसम्म अपाङ्गता भएका व्यक्तिहरुको लािग सरकारले दिएका सेवा सुविधाहरुमा परिचय पत्रको व्यवस्था, समुदायमा आधारित प्रस्तावना कार्यक्रमको प्रवद्र्धन, पुनःस्थापना केन्द्रहरुको लागि अनुदान सहयोग, सहायक सामाग्री वितरण, अपाङ्गता भएका व्यक्तिहरुको लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था, उच्च शिक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था, छात्रवृत्तिको व्यवस्था, सार्वजनिक यातायातमा छुटको व्यवस्था, निःशुल्क स्वास्थ्य उपचार, पूर्ण अस्वस्थ व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको आएको उल्लेख गर्नुभयो ।
सरकारले अपाङ्गता भएका व्यक्तिहरुका लागि बनाएका ऐन र कानूनहरु समयानुकुल बनाउँदै कार्यान्वयनमा चुस्तता दिनुपर्नेमा उहाँको जोड छ ।
भौतिक संरचना र संचार सेवाहरु अपाङ्गमैत्री नभएको कारण अपाङ्गता भएका व्यक्तिहरु कष्टपूर्ण जीवन जिउन बाध्य रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्